Wednesday, October 2, 2013

मनचिन्ते कुरा - १

"मनचिन्ते कुरा" शिर्षक राखेर यो दुर दराजको यो सानो शहरमा ब्लग लेखन  सुरु गरिरहंदा सात समुद्र पारि नेपालमा मेरा बा  पनि आफ्नो डायरीमा  यसको कतिऔं भाग लेख्दै हुनुन्छ मलाई थाहा छैन | यो शिर्षक मेरा बाको डायरीको शिर्षक हो | आफ्ना मनमा  लागेका कुराहरु लेख्ने कापीको शिरानमा वा कतै नाम लेख्नका  लागि राखिएको खालि ठाउँमा मेरा बा यहि शिर्षक दिनु हुन्छ | मैले ऐलेसम्म यो शब्द "मनचिन्ते" पनि बा बाहेक अरु कसैबाट सुनेको छैन | यस अर्थमा मेरा लागि यस शब्दको जन्मदाता मेरा पुजनीय बुवा (जसलाई म कैले काहीं बा नै मात्र भन्छु) नै हुनुन्छ |
मैले बुझेसम्म मनचिन्ते कुरा भनेको मनमा लागेका कुराहरु नै हुन् | आधुनिक भाषामा ब्लग नै मनचिन्ते कुरा हो | यहाँ कम्प्युटरमा लेख्न कक्षा  ५ देखि नै कम्प्युटर पढी टोपली आएको मलाइ त हम्मे हम्मे परिरहेछ, बा कसरि लेख्नोस कम्प्युटरमा ? नत्र त टप ब्लगरमा बाको नाम उहिले दर्ज भैसक्थ्यो |
म सानै छदा देखि नै लेख्नका लागि बाले मलाइ प्रेरणा दिनुहुन्थ्यो | बुवा बुटवलका पत्र पत्रिकाहरुमा कहिले सम्पादक भएर त कहिले नियमित लेखक भएर लेखीरहनुहुन्थ्यो | त्यसैको प्रभाव हो मलाइ पनि पत्रिकामा कविता छाप्ने रहर जाग्यो |
अहिले सम्झेर हाँसो उठ्छ | मेरो नाममा पत्रिकामा प्रकाशित पहिलो कविता मैले लेखेको थिइन | बुवाको चोर औंलोमा एउटा ठुलो पिलो आएको थियो र तेसै पिलोलाइ विषय बनाएर "पिलो" शिर्षक को कविता लेख्नु भएको थियो बुवाले | मैले "मेरो नाममा पत्रिकामा दिन्छु नि" भन्दा बुवाले नाइं भन्नु भएन | न "यस्तो गर्नुहुन्न" भनेर नै थर्काउनु भयो | र त मेरो नाममा "एक्सरे" साप्ताहिकमा पहिलो कविता छापियो | मलाइ छरछिमेकका केटाहरुले अलि अलि शंका को दृष्टिले पनि हेरे तर म यति दृढ थिए कि  त्यो कविता मेरो आफ्नै रचना हो भन्ने विश्वास दिलाउन मैले कन्ठै गरेको थिए |
यसरि बाको कविता बाट मेरो कवि जीवन एक हिसाबले सुरु भयो भन्नु पर्छ | त्यसपछि पनि फाट्ट फुट्ट रुपमा कविता लेखि रहन्थें म | र शनिबार प्रकाशित हुने बाल स्तम्भहरुमा मेरा कविताले ठाउँ पाउँथे | तर पनि मलाई गुणात्मक रुपमा त्यति राम्रो कविता लेख्ने कहाँ आउँथ्यो र | त्यस बखत मेरो उमेर ७-८ बर्षको न थियो | त्यसपछि म ९ बर्षको छदा मैले स्कुल फेरें | नयाँ स्कुलमा भर्ना हुने बेलैमा बुवाले हेडसरलाइ "यसले कविता पनि लेख्छ" भनेर गफ लगाइ दिनु भएछ | अनि त  के चाहियो र? अस्सेम्ब्लीमा लाइन लाहेको बेला पहाड जत्रो जिउ भएका हाम्रा हेडसरले "भोलि कविता लेखेर लिएर आउनु" भने | अब पर्यो फसाद . ... कविता नलेखौं  सरले तेसरी अगाडी नै आएर नामै लिएर भने.......लेखौं ढंग पुर्याएर लेख्ने अनि अलि धेरै जनाले तारिफ गर्ने खालको लेख्ने खुबी छैन........ | यो अप्ठेरो समयमा मलाइ सहयोग गर्ने एकजना मात्र भेटें मैले - मेरी दिदि "इन्दिरा" |
दिदीले बेलुकी भान्सामा रोटि पकाउँदै मेरा लागि कविता जुराइ दिनुभयो "मेरो स्कुल" | कविता भोलिपल्ट स्कुलमा लगेर लाइन लागेका बेला नै सरलाई दिएँ | म मान्छे पनि सानो र आवाज ले पनि लगभग  ५-७ सय विद्ध्यार्थिको जमातमा आवाज नपुग्ने भएकाले ठुलो ठुलो स्वर गरि अजंगका मेरा हेडसरले कविता पढेर सुनाए | यो कविता त यति हिट भयो कि यसका सबै शब्द शब्द मलाइ अझै सम्म पनि कण्ठ छन् | त्यसपछि त दिप बोर्डिंग स्कुलमा मैले कहिल्लै पछि फर्केर हेर्नु परेन | सिर्जनाका हरेक क्षेत्रमा म अब्बल मानिन्थे |
यो दोश्रो कविता पछि भने मैले कविता लेख्न कसैको सहयोग लिनु परेन | पछि पछि मैले आफै लेखेका कविताको पनि स्तर बढ्दै गयो | मैले स्कुले जीवनमा धेरै कविताहरु लेखेर स्थानीय पत्रिकाहरुमा छपाएको थिए  | पछिसम्म पनि सबै को कटिंग राखेको थिए | अहिले पनि कतै बाको दराजमा सुरक्षित होलान् |

दाउराको चुलोमा आगो बाल्न सलाईले मात्र पुग्दैन | झास झुस, पराल , कागज आदिको सहारा लियो भने ठुला ठुला मुडाहरूमा पनि आगो लगाउन सजिलै सकिन्छ | हो, त्यसै गरि मेरा बा र मेरी दिदिले तिनै कागज र पराल को काम गरेर मलाइ सिर्जना गर्न हौस्याउने काम गर्नु भयो | र पछि सम्म पनि त्यो आगो निरन्तर बल्यो र केहि बेरपछि त त्यो आगो निभ्दै पनि गयो र ताता कोइलाहरु मात्र रहे | र आज खरानीले छोपिएर राखिएको तिनै कोइलाहरु र तिनै कोइलामा रहेको तातोमा  फेरी साना तिना दाउराहरु जोरेर अर्को आगो बाल्ने कोशिस गर्दैछु म ......

No comments:

Post a Comment