दशैं लागिसक्यो | यहाँ पनि रुखका पातहरु पहेंलिदै छन् | मौसम फेरिएको छ | चिसो बढेको महसुश हुदैछ | नेपालमा भएका भए अर्कै उमङ्ग हुने थियो | न्यानो घाम, हराभरा मौसम, जता ततै फुलेका फुलहरु र माटो को फेरिएको गन्ध | शब्दमा ठ्याक्कै वर्णन गर्न नसकिने कस्तो कस्तो मिठो आभाष | पृथिवीको उत्तरी ध्रुवमा अनुकुल मौसम हुने भएर होला हामि हिन्दु मात्र हैन खैरेहरुको पनि फेस्टिवल सिजन शुरु भएको छ | ह्यालोविन, थांक्स गिविंग आदि... | आखिर पृथिवी त एउटै हो नि |
शायद सबैलाई एकै प्रकारको महशुश हुदो हो र त सबैले "केटाकेटि छदा जस्तो चाडबाडको रमाइलो उमेर बढ्दै गएपछि हुन्न" भन्छन् | दशैंको मुखमा मलाई पनि आज आफ्नो बालकपनको याद आयो |
म सानै छदा बुटवलमा हाम्रो घरनजिकै बाक्लो मगर बस्ति थियो | त्यसो त घरहरु पनि पातला थिए तर जति थिए तेस्मा मगर घनत्व थियो | सबैजना गुल्मी, पाल्पा, स्यांग्जा आदि पहाडी भागदेखि नै झरेकाले होला निकै मिलेर बसेका थिए छिमेकीहरु | तीमध्ये दुइटा घरहरु थिए घर नजिकै "ठुलो लाहुरे" र "सानो लाहुरे" | उनिहरुलाई किन त्यस्तो नाम दिएको मलाइ यकिन भएन शायद यी उपनामहरु हाम्रो परिवार भित्र मात्रै प्रचलित थिए | तर जे होस्, समाजमा ठुलो लाहुरेको ठुलै ठाटबाट थियो र सानोको सानै | हरेक कुरामा ठुलो लाहुरे प्रभावशाली थिए | हामि साना केटाकेटीको मानसपटलमा येही थियो, ठुलो लाहुरे धनि भएर ठुलो लाहुरे भनेको हो र सानो लाहुरे गरिब | तेसो त सानो लाहुरे पनि हामि भन्दा त आर्थिक हिसाबले सम्पन्न नै थिए तर उनीहरु बिच तुलना गर्ने गर्थे अरु मान्छेहरु पनि | हामि केटाकेटीहरु समेत पछि थिएनौ यस कुरामा | तुलना यस कारण पनि हुँदो हो किनभने उनीहरुका घर आमुन्ने सामुन्ने थिए, र धेरै कुरामा समान थिए |
ठुलो लाहुरेको घर पनि ठुलो, दुइतला - कोठा त कति हो कति ? चट्ट मिलेको बगैंचा, कुकुर, बाख्रा,बिरालाहरु देखि हाँस कुखुरा सम्म सबै पालिएका थिए त्यहाँ | हाँस कुखुरालाई राख्न ब्यबस्थित खोरसमेत थियो | यस्तो लाग्थ्यो ठुलो लाहुरेले धेरै देश दुनिया देखेका छन | उनलाई जीवन जिउने कला राम्ररि थाहा छ | एउटा सम्पन्न घरमा जे जे हुनु पर्ने हो ति सबै कुरा त्यस घरमा देखिन्थ्यो | उनको घरमा टिभी पनि थियो | बिस इन्चीको ब्ल्याक एंड व्हाइट टिभी | राजिव गान्धीको हत्या भए पछि हामि धेरै केटा केटि उनको घरमा टिभी हेर्न गएका थियेउ | त्यसपछि त हाम्रो घरमा पनि बुवाले त्यस्तै बिस इन्चीको ठुलो ब्लैक एंड व्हाइट टिभी ल्याउनुभो | त्यो पनि सलोरा, सटर लगाउन मिल्ने | चाबी पनि लगाउन मिल्थ्यो त्यो टि भीमा | रंगिन टिभी त कोहि कोहि को घरमा मात्रै हुने | अझ रंगीन टि भी हेर्य्यो भने आँखा कम्जोर हुन्छ भनेर टि भी नै हेर्न नहुने कथन हुन्थ्यो बाहरुको त |
सानो लाहुरेको घर एकै तलाको थियो | हाम्रो भन्दा त ठुलै थियो तर ठुलो लाहुरेको तुलनामा सानो थियो | उनका छोरीहरु धेरै थिए र एउटै छोरा थिएनन् | सानो ठुलो दुवै लाहुरेहरु एक आपसमा सम्बन्धि थिए | तर कत्तिको नजिक टाढाका थिए भन्ने कुरो दैलो जोडिएको मैले त्यहि जन्मिएर १६ वर्ष गुजारदासम्म पनि थाहा पाईन | दुवै जना लाहुरे थिए | पछि पछि म ठुलो हुदै जांदा थाहा पाए सानो लाहुरे इंडिया को लाहुरे हो र ठुलो लाहुरे हंग कंगको | त्यसैले यिनीहरुका बिचमा येस्तो फरक देखिएको | बुटवलमा हाम्रा ति सब भन्दा नजिकका छिमेकिहरु थिए तर अचम्मको सम्बन्ध थियो उनीहरुसंग | दुवै लाहुरेहरूका किराना दोकान थिए | तर उनीहरुका बिच प्रतिस्पर्धा थिएन... जे ठुलोकोमा पाइन्थ्यो, त्यो सानोकोमा पाइन्नथ्यो | ठुलो लाहुरेकोमा रेडिमेड पाउरोटी, चाउचाउ, बिस्कुट, कोक, फ्यान्टा, एस्ता कुराहरु किन्न पाइन्थे भने सानोकोमा तेल, दाल, चामल, ढिके नुन, भेली, पिठो, आलु, प्याज जस्ता दैनिकीका सामानहरु भेटिन्थे | हामि समान किन्न पसलमा बाहेक उनीहरुका घरभित्र बिरलै पस्थ्येउ | म ठुलो लाहुरेको घरमा त गइ रहन्थे... किन कि त्यहाँ भाडामा मान्छेहरु बस्थे... तर सानो लाहुरेकोमा भने कुनै दिन गएको याद छैन..|
आखिर किन त्यति नजिक भएर पनि हामि त्यहाँ का छिमेकीहरु संग झिम्मिन सकेका रहेनछौं त ? भनेर सोंच्दा मैले विरलै त्यसको उत्तर पाए | ऐले येसो विस्लेशण गर्दा थाहा हुन्छ कि हामि र उनि हरुका बिच एउटा खाडल थियो | जातको खाडल | हामि पक्का बाहुन, उनीहरु पक्का मगर | फरक जातिको भए पनि गाउँघरमा त निकै आत्मियता हुन्छ... तर बुटवल गाउँ थिएन | त्यो नया बस्ति थियो | सबै बासिन्दा आफ्नो मूल थलो छाडेर नया बस्तीमा सुखी भविष्य को कामना लिएर आएका थिए | र नयाँ ठाउँमा आफ्नो पहिचान मेटिएला कि भन्ने कुरामा उनीहरु निकै चनाखो पनि थिए | तेसैले त पहाड घरमा जस्तो मगर र बाहुनमा कुनै आदान प्रदान थिएन, मात्र एउटा औपचारिकता थियो छिमेकीको | तर पनि येसो बिहे बर्तनको निम्तो मान्ने, येस्तो आदि त हुन्थ्यो नै | चाडबाडमा पनि आफ्नै तरिकाले रमाइलो गरिन्थ्यो | औपचारिकताकै लागि भए पनि कुराकानी हुन्थ्यो, सौहार्दता, मैत्री त थियो नै | दशैं तिहार आदि सबै रमाइला चाडबाड हरु सबै मनाउँथे |
त्यसैबिच एक बर्सको दशैंमा ठुलो सानो दुवै लाहुरेको घरमा दशैं मनाईएन | होइन, जुठो सुतक परेर छेकिएर होइन रहेछ | अनौठो कुरो सुन्नमा आयो त्यो वर्ष | बाउबाजेदेखी मनाउँदै आएको चाड दशैं अब देखि ठुलो सानो दुवै लाहुरेको परिवारले नमनाउने अरे | किनकि यी भनेका बाहुन काठाका पर्व अरे | मगरको होइन रे | अनि के के के के...यस्तो अनौठो कुरो सुन्दा हाम्रो बाल मस्तिष्कमा समेत "किन यसो गरेको होला?" भन्ने पर्न गयो | गत वर्षसम्म सबै जना कति मिलेर यो रमाइलोमा सरिक हुन्थे.... सबका निधारमा राता टिका..... अझ ठुलो लाहुरेको घरमा त कति ब्यबस्थित तरिकाले जमरा राख्थे.. ऐले अचानक के भएछ? हामि जिल्ला पर्यौं | यो निर्णयबाट खुद ठुलो लाहुरेका परिवारका सदस्य पनि खुसि थिएनन् | पछि अलि बुझ्ने भएपछि थाहा लाग्यो, ठुलो लाहुरे आफुलाई मगरजातिको सच्चा पहरेदार भन्ने ठान्दा रैछन | नाम कहलिएका मगर नेताहरुको उनको घरमा आवत जावत हुदोरैछ | र आफुलाई सच्चा मगर भन्ने देखाउन र आफ्नो पहिचानलाइ कायम राख्ने भन्ने बहानामा ति दुइ मगर परिवारले दशैं नमनाउने भएछन | त्यति मात्र होइन, ठुलो लाहुरे प्रभावशाली भएकाले उनले आफ्नो वर परका आफन्तहरुलाई समेत यो पर्व नमनाउनका लागि कन्भिन्स गरेका रैछन् | र त त्यस साल पछि हाम्रो टोलमा आजसम्म पनि धेरै मगरहरुले दशैं मनाउन छाडिदिएका छन | त्यो समयमा ठुलो लाहुरेले एक प्रकारको बिद्रोह गरेका थिए | कसैले पनि नसोचेको कुरा गरेर | उनले आफ्नो हिसाबले त सहि गरेका होलान् तर येसैपनी जात फरक भएकै कारण त्यति घुलमिल नभएका हामीहरुलाई त अब झन नजिक हुने अवसर पनि रहेन | एक किसिमले पहिले देखि नै रहेको दुरीलाई ठुलो लाहुरेको यो कदमले झन् बढावा दियो | समाजमा एकताको साटो झन भिन्नताको बिज रोपिएको महशुस भयो सबैलाई | एउटा राम्ररि मिलेर बसेको समाजमा ठुलो लाहुरेले आफ्नो जातीय पहिचानको नाममा दशैं नमनाउने निर्णय गरेर जे सावित गर्न खोजे त्यो पक्कै पनि समुदायको हितमा थिएन भन्ने कुरा त हामि साना केटाकेटीहरुले समेत अनुभव गरेम् |
आज बिस वर्षपछि देशमा जातीय पहिचानको लडाइं भैरहेका बेला लाग्छ हाम्रो देशमा धेरै ठुलो लाहुरेहरु जन्मेका छन् | मलाइ थाहा छ ठुलो लाहुरेले पक्कै पनि आफ्नो समुदायको उठान को लागि र चेतना फैलाउनका लागि त्यति बेला एक प्रकारको बिद्रोह गरेका थिए | तर अहिले आफ्ना वाद, आफ्ना स्वार्थ र के के हो के के सिद्ध गर्नका लागि अहिलेका ठुलो लाहुरेहरु लागि परेको देखिन्छ | दशैं एउटा जात बिसेषको मात्र चाड थिएन | यो त आदिम कालदेखी प्रकृतिका पुजक रहेका सम्पूर्ण नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने एउटा धागो थियो | यो सम्पूर्ण नेपालि समाजको एकताको पहिचान थियो | तर आज यो कुनै जात बिशेषको भएको छ र दिन प्रतिदिन यसको महत्वमाथि आंच आउने क्रम जारि छ | हाम्रो देश समावेशी हुँदैछ, त्यो खुसीको कुरा हो, तर त्यति हुँदा हुँदैपनि हामि नेपालीबीच परापुर्वकाल देखी रहेको आपसी सौहार्दता र सहिश्नुताले अहिले धुलो चाटेको छ | तर मनमा यो बिश्वाश छ कि कुनै दिन यस्तो पनि आउनेछ जतिबेला अलग अलग जाति, संस्कृति, रिति थिती सबैको एउटै साझा प्लाटफर्म दशैं जस्तो चाडको महत्व फेरी सबै जनाले महशुस गर्नेछन् | र मनाउने छन सारा नेपालीले बडा हर्षले "बडादशैं" | सबैलाई दशैंको मंगलमय शुभकामना ...
जय होस् !