Wednesday, March 19, 2014

हाम्रो, आफ्नो : खोजी मौलिकताको

"कुनै जमानामा कस्तो कलम चल्थ्यो..... बालककालमा वक्तृत्वकला प्रतियोगितामा भाग लिने जस्तो लेख लेखेको पो रैछु त | सृजना भन्ने टोलको पत्रिकाको लागि लेखिएको यो लेख ब्लगमा"

सूचना र प्रविधिको तीब्रतर गतिमा भइरहेको विकासले गर्दा वर्तमान विश्वमा अब नयाँ कुराहरु धेरै बाँकी छैनन् । विश्वको जुनसुकै पनि कुनामा सबैको नजर पुगिसकेको छ । अब केही कुरा कोही कसैबाट पनि छिपाउन लुकाउन मुश्किल छ । मौलिकता भन्ने कुरा अब बिस्तारै लोप हुँदैछ । यस्तो परिदृश्यमा नेपालजस्तो विकासोन्मुख राष्ट्रले विश्वलाई दिनसक्ने कुरा धेरै छैनन् । हाम्रो निर्यात गर्ने वस्तुहरु पनि विस्तारै साँघुरिंदै गएका छन् । नेपाली ऊनको गलैंचार तयारी पोशाकको अन्तराष्ट्रिय व्यापार खस्कँँदै गएको कुरा दैनिकजसो छापाहरुमा आइरहेकै छ । तर गहिरिएर सोंच्ने हो भने व्यापार व्यवसायका सानातिना मालसामान बेच्न नसकेपनि हामीले आधुनिक विश्वलाई धेरै कुरा बेच्न सक्छौं । हामी आधुनिक विज्ञानका गह्रुँगा सुत्रहरु त प्रतिपादन गर्न नसकौंला तर हाम्रो सरलता पनि कम आकर्षक छैन । अनि हाम्रो सभ्यता, संस्कृति र प्रकृतिभित्र रहेका धेरै भर्जिन(पवित्र) विषयवस्तुहरुमा अनुसन्धान गरेर त्यसको प्रतिफल संंसारलाई सुनाएर जिल्ल पारिदिन सक्छौं । यसो हेर्दा हामिसित आफ्नो र मौलिक भन्ने केही छैन जस्तो लागेपनि हेरि ल्याउँदा हामीसित जति मौलिक कुराहरु को सँग हुन सक्छन् र ? फरक दृष्टिकोणमा मात्र छ ।
प्रसंगलाई साँघु¥याउँदै ल्याउँदा यो भन्नै पर्ने हुन्छ कि नेपाली सभ्यता र संस्कृतिमा धेरै आफ्ना कुराहरु छन् । अफ्गानिस्तानदेखि बर्मासम्म फैलिएको विशाल हिमालय पर्वतश्रृंखलाको अधिकांश भाग ओगट्ने नेपालको उत्तरी सिमाना नै यहाँको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, आदि विविधताको कारक हो भन्दा अत्युक्ति नहोला । आयुर्वेद डाक्टरहरुको एउटा सम्मेलनमा नेपालका प्रसिद्ध दन्तचिकित्सक डा.सुशिल कोइरालाले भन्नुभएको कुरा सधैं मेरो स्मरणमा आउँछ । उहाँ भन्दै हुनुन्थ्यो ः “जब म विश्वभरका नामी डेन्टिस्टहरुको सभा सम्मेलन वा गोष्ठिमा जान्छु, आधुनिक चिकित्सा विज्ञानलाई म केही नयाँ कुरा दिन सक्दिन । किनकी विज्ञान–प्रविधि विकास उतैतिर बढी छ । तर जब म दन्त चिकित्साको त्यहीं पाटोलाई फरक तरिकाले ख्भमष्अ क्mष्भि भनी नाम दिन्छु । त्यतिबेला मेरो कार्यपत्र निकै प्रभावकारी हुन्छ । उहाँको यो भनाइबाट के लाग्छ भने हाम्रो समाजमा दुइथरी बौद्धिक जगत व्याप्त छ । एउटा जगत जसले हाम्रो धर्म संस्कृति र सभ्यतामा कत्ति पनि वैज्ञानिकता देख्दैन र कथित आधुनिकताको नाममा पछौटेपनलाई मात्र अंगिकार गरेको पाइन्छ भने अर्को यस्तो पनि बौद्धिक सर्कल छ डा.कोइरालाजस्तै जसले हाम्रो परम्परा, संस्कृति र सभ्यताभित्र लुकेका विभिन्न तथ्यहरुलाई वैज्ञानिक विश्लेषण गर्ने सामथ्र्य राख्दछ वा सम्मानसाथ हेर्दछ ।
हामीले दिनदिनै प्रयोग गर्ने चिजबिज लेख्ने पढ्ने कापी कलमदेखि, लत्ताकपडा, घरद्वार केहीमा पनि हाम्रो मौलिकता छैन । पाश्चात्य जगतको सिको गर्न हामी उद्दत छौं । अहिलेको विश्वले खुला बजार अर्थनीतिलाई अंगिकार गरिरहेको छ । अब केन्टुकिको कुखुराको मासु खान अमेरिका नै पुग्नुपर्दैन, ब्राजीलको खाना अब एकै क्लीकमा बेडरुममा मगाउन सकिन्छ । यस्तो बजारमा नेपालजस्ता साना गरीब देशहरुले प्रतिस्पर्धा गर्न निकै गाह्रो पर्छ । एकातिर हामीलाई आफ्ना मौलिक उत्पादनहरु विश्वसामु परिचित गराउने र विश्वव्यापी रुपमा त्यसको बजार विस्तार गर्ने अवसर छ भने अर्कोतिर सम्पूर्ण रुपमा आफूलाई बिर्सेर परनिर्भर हुने अवस्था पनि आउन सक्छ । पछिल्लो अवस्था नेपालको वर्तमान हो । हामीले नेवार संस्कृतिको लाखामरी –मिठाई) लाई भारतीय सोनपापडीको प्रतिस्पर्धामा उतार्न सकेका छैनौं । फलस्वरुप लाखामरी  बनाउनसक्ने शिल्पीहरु विस्थापित हुँदैछन् । र ती सँगै तिनको मौलिक शिप र ज्ञान पनि क्रमशः हराउँदैछ ।
यो लेखक चिकित्सा विज्ञानको विद्यार्थी भएको नाताले यसै विषयका लेखहरु उठाउन सान्दर्भिक देखिन्छ । जस्तो कि सामान्य रुपले भन्दा÷सोध्दा वा कुराकानी गर्दा हामी कल्पना पनि गर्न सक्दैनौं हामीले वर्तमान एलोप्याथी चिकित्सा विज्ञानलाई कति योगदान गरेका छौं भन्ने कुरा । विदेशी भूमिमा सिकिएको शिक्षालाई हामीले नेपाली जनताको लागि काम लाग्ने बनाएका छौं । आधुनिक चिकित्सा विज्ञानको कुनै पनि एक पुस्तक भेट्टाउन मुश्किल पर्छ जसलाई नेपाली लेखककले लेखेका होउन् । नेपाली चिकित्सा विज्ञानका विद्यार्थीले सबै विदेशी वैज्ञानिकद्धारा लिखित पुस्तक अध्ययन गरेका हुन्छन् । भन्नुको तात्पर्य एलोप्याथी चिकित्सा विज्ञानमा हामी नेपालीको योगदान शुन्यबराबर छ । यो आयातित विज्ञान हो जसलाई हामीले हाम्रो माटोमा सजाउने प्रयास गर्दा कति सफल भयौं भएनौं त्यो पछिको कुरा । अहिलेको खुला समाजमा पनि म र मेरो भन्ने कति आत्मकेन्द्रीत र संकुचित सोंचाई भनेर मलाई आरोप लगाउन मिल्छ । तर यो कटु सत्य हो विश्वको जुनसुकै कुनामा पनि अपनत्व (कभािलभकक) का प्रति सबैको माया छ । रुवान्डाको जातीय लडाई, भारत पाकिस्तानको विभाजन, अफ्रीकाको रंगभेद विरोधी आन्दोलन, बेलाबेलामा भड्कीने धार्मिक हिंसादेखि नेपालमा अहिले छलफलको विषय बनेको समावेशी र आरक्षणका कुराहरुमा आत्मस्वाभिमान झल्किएको हुन्छ । उदाहरणको लागि लिउँ न भर्खरमात्र प्रसिद्ध भारतीय संगीतकार ए.आर.रहमानले ओस्कार पुरस्कार पाउँदा भारतीय नागरिकले जति गर्व गरे के हामीले उनका प्रति त्यति घमण्ड गर्न सक्यौं त । हामी पनि उनका संगीत सुन्छौं, उनलाई चिन्छौं तर उनी पुरस्कृत हुँदा हामी गर्वले फुल्न सकेनौं जति हाम्रा नीर शाहले लगानी गरेको चलचित्र “क्याराभान” मनोनित हुँदा सम्म मात्र पनि हामी जति फुलेल थियौं । यो मानवीय स्वभाव हो । जहाँ पनि मेरो, आफ्नो, हाम्रो भन्ने भएरै छाड्छ ।
प्रसिद्ध योगऋषि स्वामी रामदेवले “भारत स्वाभिमान” नामक आन्दोलन मार्फत पछौटेपनलाई उन्मुलन गर्ने अभियानको शुरुवात गरेका छन् । “अपनी भाष, अपना संस्कृति, अपना विज्ञान, अपनी चिकित्सा” जस्ता नाराहरु अगाडि सारेर उनले आफ्नो चिजलाई प्रोत्सान दिने अभियान चलाएका छन् । हामी सचेत नेपाली नागरिकमा के त्यत्ति सोंच छ ? छातीमा हात राखेर भन्ने हो भने हामी कति जना छौं ? जसले भारतीय वा अन्य विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादनहरुमा विश्वास गरेका छौं । हो हामी उपभोक्ता हौं, र हामीलाई गुणस्तर सित मात्र सरोका र छ, बरु महँगो होस् तर राम्रो होस्– कहाँ बनेको सित हामीलाई सरोकार छैन भन्ने तर्क हामी राख्न सक्छौं ।तर उहि र उत्तिकै गुणस्तरीय दुई स्वदेशी र विदेशी सामान हाम्रा अगाडी राख्ने हो भने हामी दोस्रोलाई नै रोज्छौं । यो पनि मानवीय स्वभाव हो तर समस्या कहाँनेर छ भने हामीकहाँ आफ्नालाई प्रोत्साहन गर्ने संस्कृतिको विकास भएको छैन ।
हो, अपनी चिकित्सा अर्थात् आफ्नै चिकित्सा प्रणाली । विश्वव्यापी रुपमा व्याप्त र लोकप्रिय एलोप्याथी चिकित्साको आधिपत्यलाई चुनौति दिंदै भारतजस्तो धेरै उपभोक्ता भएको मुलुकको एक सामान्य जोगीले आज मौलिक चिकित्साले भारत मात्र  हैन पुरा विश्वलाई स्वस्थ बनाउँछु भनिरहेको छ । त्यो मौलिक चिकित्सा भनेको योग र आयुर्वेद हुन् । भारतीय र नेपाली संस्कृतिमा धेरै समानता छ । अफ्गानिस्तानदेखि वर्मासम्म फैलिएको विशाल हिमालय पर्वत शृंखलाको  काखमा रहेका भारत, नेपाल, काश्मिर, सिक्कीम, तिब्बत, भुटान, वर्मा आदि देशहरुको सभ्यता र संस्कृतिमा मिल्ने पक्षहरु धेरै छन् । यो नै पूर्वीय सभ्यताको उद्गमथलो हो । विश्वकै प्राचीन भाषा संस्कृत, पुस्तक वेद, धर्म हिन्दु आदि सबैको विकास यसै भूमिमा भएको हो । आयुर्वेदकै इतिहासको कुरा गर्ने हो भने त आयुर्वेदको उत्पत्ति हिमालयकै छेउछाउमा भएको भनिएको छ । हिमालयको ठूलो हिस्सा ओगट्ने हाम्रो मुलुक, संसारकै अग्ला हिमालहरु भएको हाम्रो मुलुक र त्यसकारण आयुर्वेद विज्ञान हाम्रो विज्ञान हो, यसको उत्पत्ति हाम्रो माटोमा भएको हो भनेर हामीले कहिल्यै भन्न सकेनौं । र त आज सारा विश्वले् आयुर्वेद र योगलाई भारतीय चिकित्सा (क्ष्लमष्बल ःभमष्अष्लभ) भनी पुकार्छ । हामी यहिंनेर पछि परिसक्यौं ।आयुर्वेदका प्रसिद्ध वैज्ञानिकहरु नागार्जुन, चरक, सुश्रुत त्यसअनुसार सबै भारतकै कहलिए । जे होस्, भनाईको तात्पर्य के हो भने चिकित्सा विज्ञान जस्तो जटिल विषयमा हाम्रो पनि योगदान छ र? भनेर विश्वास नगर्ने हामी यो थाहा पाउँदा जिल्ल पर्छौं कि एक डेढ सय वर्षको पनि इतिहास नभएको हाम्रो मुलुकमा आयुर्वेद चिकित्सा हजारौं वर्षदेखि व्याप्त छ । आयुर्वेदको प्रसिद्ध पुस्तक काश्यपसंहिता नेपालमै भेट्टाइएको थियो र यहाँका नामी वैद्यहरुले निकै खोज अनुसन्धान गरेर बनाएका औषधिहरुले यहाँका जनताले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । जसको एउटा ज्वलन्त नमुना करीब ४०० वर्ष पुरानो सिंहदरबार वैद्यखाना हो । नेपालजस्तो गरीब र पिछडिएको मुलुकमा पनि ४ सय वर्षअघि औषधि उत्पादन गर्ने फार्मेसी हुनु कुनै चानचुने कुरा होइन । तर खै त हामीले यस कुरामा गर्व गर्न सकेको ? खै त हामीले सिंहदरबार वैद्यखानालाई डाबर, हिमालय जस्ता बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्न सकेको ?
कुरो चिकित्सा विज्ञानको मात्र होइन । यो त जटिल र संवेदनशील विषय न ठहरियो । तर हामी आधुनिक बन्ने निहँुमा अन्धाधुन्ध यसरी अरुको नक्कल गरिरहेका छौं जसको कुनै सिमा नै छैन । परम्परागत मौलिक प्रविधिहरु अब संग्राहलयमा राख्न पनि नअट्ने गरी हराउँदै छन् । पछिल्लो समय प्लाष्टिकका भाँडाकुँडाको प्रयोगले हाम्रो माटोबाट भाँडाबनाउने प्रविधि लोपोन्मुख छ । ठेकी, चौंठी, पेरुंगो आदि जस्ता भाँडा त देख्नै मुश्किल भैसक्यो । र सँगसँगै लोप भइसके तिनलाई सिर्जना गर्नेहरुका कला शिल्प । न हामीकहाँ प्लाष्टिककै भएपनि माग पूरा गर्न सक्ने कलकारखाना बने न त हामीले काठकै उद्योगहरुलाई व्यवसायिकता दिन सक्यौं । त्यहीं नियति छ हस्तकलाका अन्य सामाग्रीहरुको । त्यसरीनै बुढापाकाले निर्धारण गरेका स्वास्थ्यका उपायहरु पनि त हराउँदै छन् । सानातिना स्वास्थ्य समस्याहरुलाई भान्साकै मसला, ओखतिहरुबाट निको पार्ने बिधि अहिलेको पुस्ताले कहाँ जानेको छ र ? अब नयाँ पुस्तालाई यस्ता मौलिक प्रविधि, ज्ञान र कलाको विषयमा तालिम दिने बेला भइसकेको छ ।
हामी निकै पछौटे भइसकेछौं । अब आफ्नो र हाम्रो चिन्ने बेला भएको छ । अब भन्ने बेला भएको छ चारधाम भनेको बद्री केदार मात्र होइनन् । नेपालकै रुरुक्षेत्र, पाशुपत क्षेत्र, बराहक्षेत्र र मुक्तिक्षेत्र हुन हाम्रा चारधाम । अब दरबार मार्गका रेष्टुराँहरुमा पिज्जासँगै नेवार परिकार चतामरीले पनि स्थान पाउनुपर्छ । बटुक र योमरीहरु पनि मोःमोः जस्तै सर्वसुलभ हुनुपर्छ । देउडा र रोयला घन्किनुपर्छ डिस्कोहरुमा । घाटुले स्थान पाउनुपर्छ रियालिटी शोहरुमा । अब व्यवसायिक तालिममा केटाकेटीलाई ढाका बुन्ने तान देखाइनुपर्छ र तेल पेल्ने कोलको प्रविधि बुझाइनुपर्छ । हाम्रा नातीहरुले आधुनिक खेलौनाको साथमा काठले बनाएका गाडी र मकैको डाँठका पुतलीहरु पनि खेल्न पाउनुपर्छ । अब फेरि काठमाडौंका गल्लीहरुमा बैद्यपसल खोलिनुपर्छ र बनाइनुपर्छ दुई चारवटा वैद्यखानाहरु । अब ढाल्नुपर्छ संस्कृतिलाई फेसनमा र परिस्कृत गरिनुपर्छ मूल्य र मान्यताहरु । अब जस्ताको तस्तै कपी पेस्ट गरेर मात्र हुँदैन, संस्कार पछाडीका तथ्यहरु सबैले बुझ्ने भाषामा पढाइनुपर्छ । सिकाइनुपर्छ चुरा लगाउनुको महत्व, चन्दनको चमत्कार अनि देखाइनुपर्छ परम्पराका पछाडि लुकेको वैज्ञानिक कारणहरु । यो सब हामीले कत्ति ढिलो नगरी गर्नुपर्ने भएको छ । यत्ति छिटो कि फेरि हाम्रो आफ्नो भन्ने चिज हराइ नजाओृस्, मेटिएर नजाओस् ।
 

Monday, November 18, 2013

Our second Anniversary

Neither with a red rose
Nor by any ring
Not even a heart pendant
Or a penny thing

Why should I pose you as such?
Whom I need to show
As long as you've realized by heart
When you already know

Just want you to be ever- loving
Nothing else to say
Just wish you a very happy

2nd anniversary day

भावना मनको : प्रसङ्ग विवाहको दोश्रो वर्षगाँठ


मलाई सधैं यसरि नै माया गर नानु
घामको लाली जिन्दगीमा छाया छर नानु
घाम छायाँ जैले जैले संगै भए जस्तो
तिमि पनि मेरो मनमा डेरा सर नानु
पटक पटक जिन्दगीमा आउने गर्छ जांच
हरेक पल्ट एक नम्बरमा पास गर नानु
तिमि संगै हुन्छौ जब जिन्दगीमा मेरो
छैन केहि पिर सुर्ता छैन डर नानु
मलाइ मात्रै सद्दे भइदिए पुग्छ तिमीले  

अरुलाई खुसि पार्न छैन कर नानु 

Saturday, November 2, 2013

कविता: दशैं र देश

दशैं गयो, तिहार आयो
छोरोले दशैं कसरि मनायो ?
के खायो के गर्यो होला?
कठै एक्लै पर्यो होला?
भन्ने कत्ति नठान्नु आमा
पिर सुर्ता नमान्नु आमा
घरबाट टाढै सहि
म ऐले जहाँ छु त्यहि
एउटा सानो नेपाल पाँए
आमा! मैले दशैं मनाएँ

हो आमा!
गाउँमा जस्तै रमाइलो गरि लट्टे पिंग गाडिएन यहाँ
सुका बाजी थापेर चउरमा लंगुर बुर्जा खेलिएन यहाँ
न निधारभरी अक्षता टोपीभरि जमरा लगाएर गाउँ चाहारियो
न दक्षिणाको धाक लडाइयो, न नयाँ कपडाको शान झारियो
तर घरको न्यास्रो मेटाउनकै लागि सहि
म ऐले जहाँ छु त्यही
एक दिन कामबाट छुट्टि पाएँ
जानी नजानी सेलरोटी घुमाएँ
अरु संगै म नि रमाएँ
आमा! मैले दशैं मनाएं

मलाइ अफशोच छ आमा!
यसपल्ट म त्यहाँ आउनै पर्ने थियो
हजुरआमाको चौरासीमा म त्यहां हुनै पर्ने थियो
तर के गर्नु आमा?
मिलाउन मैले नखोजेको होइन
कलेजमा अहिलै परिक्षा पर्यो
कामबाट लामो छुट्टि पाइन
मन अमिलो भो, छाति हुँडलियो
मुटु निचोरियो, आँशु झर्यो
तर आँशु पिउने होइन,
हाँसी हाँसी जिउनु पर्छ
भन्ने हजुरको अर्ति संझे
आफैले गरेको प्रगति संझे
म जस्तै दुइ चार साथि भेट्टाएँ
जमरा उमारें, अक्षता भिजाएं
टिका लगाइदिएँ, आफुले लगाएँ
आमा! मैले दशैं मनाएँ

आमा! एकपल्ट सोंच्नुस् त
दशैं त हामि सधैं मनाउँछौं
"देश" कहिल्यै मनाउन पाइएन
हामि रमाएर मात्र के भो र आमा?
देश हाम्रो कहिल्यै रमाएन
आमा! आज दशैंको मुखमा
चामल नपाउने कत्ति होलान् ?
लाज छोप्न नपाएर केहिले
नांगै बस्ने कत्ति होलान?
ती भोकै नांगै बस्नेहरुलाई
के को दशैं? के को तिहार?
हामीलाई भने हर्ष बढाइँ
उनीहरुलाई खै के त उपहार?

यहाँ बेग्लै छ आमा!
आमा! यहाँ देश मनाउँछन्
सबै मिलि देश बनाउँछन्
हत्ते हाल्छन्, मरी मेट्छन्
टुक्रिन दिन्नन्, देश जोडाउँछन्
न कोहि भोका, न कोहि नांगा
न कोहि देख्छु अन्धा अपांग
सबै धनि सबै सम्पन्न
सबै खुसि सबै प्रसन्न
हामि यस्तो कैले हुने?
हाम्रो मैलो के ले धुने?

आमा! अब दशैंको साटो                                             
आघौँदेखि देश मनाउँ
आमा, हजुरको आज्ञा पाउँ

देश मनाउन घर कैले आउँ?

Friday, October 11, 2013

दशैं कविता

एउटा दशैँ फेरी आयो

October 3, 2011 at 10:10am
अभाव र गरिबीको प्रभावलाई गिज्याऊदै
अशान्ति र असुरक्ष्याको धंगधंगी लाइ जिस्क्यौदै
सुखशान्ति सम्वृद्धिको अप्राकृतिक बिगुल बजायो
लौ हेर नेपालि हो  एउटा दशैँ फेरी आयो

वर्ष दुइतिन बिते आउनु पर्ने संबिधान आएन
न देशले विकास पायो, जनताले मान पाएन
धनिलाइ  चाड पर्व गरीबहरुको काल आयो
लौ मनाउ  दाजु भाइ हो एउटा दशैं फेरी आयो

देशभरी अन्योल छ मन भित्र शंकै शंका
कोइलाको गुफा भित्र चिताउने सुनको लंका
डर त्राश बीच पनि  उत्सवको चटारो आयो
लौ भन के गर्ने हो ? एउटा दशैं फेरी आयो 

Thursday, October 10, 2013

दशैं गफ

दशैं लागिसक्यो | यहाँ पनि रुखका पातहरु पहेंलिदै छन् | मौसम फेरिएको छ | चिसो बढेको महसुश हुदैछ  | नेपालमा भएका भए अर्कै उमङ्ग हुने थियो | न्यानो घाम, हराभरा मौसम, जता ततै फुलेका फुलहरु र माटो को फेरिएको गन्ध | शब्दमा ठ्याक्कै वर्णन गर्न नसकिने कस्तो कस्तो मिठो आभाष | पृथिवीको उत्तरी ध्रुवमा  अनुकुल मौसम हुने भएर होला हामि हिन्दु मात्र हैन खैरेहरुको पनि फेस्टिवल सिजन शुरु भएको छ | ह्यालोविन, थांक्स गिविंग आदि... | आखिर पृथिवी त एउटै हो नि |
 शायद सबैलाई एकै प्रकारको महशुश हुदो हो र त सबैले "केटाकेटि छदा जस्तो चाडबाडको रमाइलो उमेर बढ्दै गएपछि हुन्न" भन्छन् | दशैंको मुखमा मलाई पनि आज आफ्नो बालकपनको याद आयो |
म सानै छदा बुटवलमा हाम्रो घरनजिकै बाक्लो मगर बस्ति थियो | त्यसो  त घरहरु पनि पातला थिए तर जति थिए तेस्मा मगर घनत्व थियो | सबैजना गुल्मी, पाल्पा, स्यांग्जा आदि पहाडी भागदेखि नै झरेकाले होला निकै मिलेर बसेका थिए छिमेकीहरु | तीमध्ये दुइटा घरहरु थिए घर नजिकै "ठुलो लाहुरे" र "सानो  लाहुरे" | उनिहरुलाई किन त्यस्तो नाम दिएको मलाइ यकिन भएन शायद यी उपनामहरु हाम्रो परिवार भित्र मात्रै प्रचलित थिए | तर जे होस्, समाजमा  ठुलो लाहुरेको ठुलै ठाटबाट थियो र सानोको सानै | हरेक कुरामा ठुलो लाहुरे प्रभावशाली थिए |  हामि साना केटाकेटीको मानसपटलमा येही थियो, ठुलो लाहुरे धनि भएर ठुलो लाहुरे भनेको हो र सानो लाहुरे गरिब | तेसो त सानो लाहुरे पनि हामि भन्दा त आर्थिक हिसाबले सम्पन्न नै थिए तर उनीहरु बिच तुलना गर्ने गर्थे अरु मान्छेहरु पनि | हामि केटाकेटीहरु समेत  पछि थिएनौ यस  कुरामा | तुलना यस कारण पनि हुँदो हो किनभने उनीहरुका घर आमुन्ने सामुन्ने थिए, र धेरै कुरामा समान थिए |
ठुलो लाहुरेको घर पनि ठुलो, दुइतला - कोठा त कति हो कति ? चट्ट मिलेको बगैंचा, कुकुर, बाख्रा,बिरालाहरु देखि हाँस कुखुरा सम्म सबै पालिएका थिए त्यहाँ | हाँस कुखुरालाई राख्न ब्यबस्थित खोरसमेत थियो | यस्तो लाग्थ्यो ठुलो लाहुरेले धेरै देश दुनिया देखेका छन | उनलाई जीवन जिउने कला राम्ररि थाहा छ | एउटा सम्पन्न घरमा जे जे हुनु पर्ने हो ति सबै कुरा त्यस  घरमा देखिन्थ्यो | उनको घरमा टिभी पनि थियो | बिस इन्चीको ब्ल्याक एंड व्हाइट टिभी | राजिव गान्धीको हत्या भए पछि हामि धेरै केटा केटि उनको घरमा टिभी हेर्न गएका थियेउ | त्यसपछि त हाम्रो घरमा पनि बुवाले  त्यस्तै बिस इन्चीको ठुलो ब्लैक एंड व्हाइट टिभी ल्याउनुभो | त्यो पनि सलोरा, सटर लगाउन मिल्ने | चाबी पनि लगाउन मिल्थ्यो त्यो टि भीमा  | रंगिन टिभी त कोहि कोहि को घरमा मात्रै हुने | अझ रंगीन टि भी हेर्य्यो भने आँखा कम्जोर हुन्छ भनेर टि भी नै हेर्न नहुने कथन हुन्थ्यो बाहरुको त |
सानो लाहुरेको घर एकै तलाको थियो | हाम्रो भन्दा त ठुलै थियो तर ठुलो लाहुरेको तुलनामा सानो थियो | उनका छोरीहरु धेरै थिए र एउटै छोरा थिएनन् | सानो ठुलो दुवै लाहुरेहरु एक आपसमा सम्बन्धि थिए | तर कत्तिको नजिक टाढाका थिए भन्ने कुरो दैलो जोडिएको  मैले  त्यहि जन्मिएर १६ वर्ष गुजारदासम्म पनि थाहा पाईन | दुवै जना लाहुरे थिए | पछि पछि म ठुलो हुदै जांदा थाहा पाए सानो लाहुरे इंडिया को लाहुरे हो र ठुलो लाहुरे हंग कंगको | त्यसैले यिनीहरुका बिचमा  येस्तो फरक देखिएको |  बुटवलमा हाम्रा ति सब भन्दा नजिकका छिमेकिहरु थिए तर अचम्मको सम्बन्ध थियो उनीहरुसंग | दुवै लाहुरेहरूका किराना दोकान थिए | तर उनीहरुका बिच प्रतिस्पर्धा थिएन... जे ठुलोकोमा पाइन्थ्यो, त्यो सानोकोमा पाइन्नथ्यो | ठुलो लाहुरेकोमा रेडिमेड पाउरोटी,  चाउचाउ, बिस्कुट, कोक, फ्यान्टा, एस्ता कुराहरु किन्न पाइन्थे भने सानोकोमा तेल, दाल, चामल, ढिके नुन, भेली, पिठो, आलु, प्याज जस्ता दैनिकीका सामानहरु भेटिन्थे | हामि समान किन्न पसलमा  बाहेक उनीहरुका घरभित्र बिरलै पस्थ्येउ | म ठुलो लाहुरेको घरमा त गइ रहन्थे... किन कि त्यहाँ भाडामा मान्छेहरु बस्थे... तर सानो लाहुरेकोमा भने कुनै दिन गएको याद छैन..|
 आखिर किन त्यति नजिक भएर पनि हामि त्यहाँ का छिमेकीहरु संग झिम्मिन सकेका रहेनछौं त ? भनेर सोंच्दा मैले विरलै त्यसको उत्तर पाए | ऐले येसो विस्लेशण गर्दा थाहा हुन्छ कि हामि र उनि हरुका बिच एउटा खाडल थियो | जातको खाडल |  हामि पक्का बाहुन, उनीहरु पक्का मगर | फरक जातिको भए पनि गाउँघरमा त निकै आत्मियता हुन्छ... तर बुटवल गाउँ थिएन | त्यो नया बस्ति थियो | सबै बासिन्दा आफ्नो मूल थलो छाडेर नया बस्तीमा सुखी भविष्य को कामना लिएर आएका थिए | र नयाँ ठाउँमा आफ्नो पहिचान मेटिएला  कि भन्ने कुरामा  उनीहरु निकै चनाखो  पनि थिए | तेसैले त पहाड घरमा जस्तो मगर र बाहुनमा कुनै आदान प्रदान थिएन, मात्र एउटा औपचारिकता थियो छिमेकीको | तर पनि येसो बिहे बर्तनको  निम्तो मान्ने, येस्तो आदि त हुन्थ्यो नै | चाडबाडमा पनि आफ्नै तरिकाले रमाइलो गरिन्थ्यो | औपचारिकताकै लागि भए पनि कुराकानी हुन्थ्यो, सौहार्दता, मैत्री त थियो नै | दशैं तिहार आदि सबै रमाइला चाडबाड हरु सबै मनाउँथे |

त्यसैबिच एक बर्सको दशैंमा  ठुलो सानो दुवै लाहुरेको घरमा दशैं मनाईएन | होइन, जुठो सुतक परेर छेकिएर होइन रहेछ | अनौठो कुरो सुन्नमा आयो त्यो वर्ष | बाउबाजेदेखी मनाउँदै आएको चाड दशैं अब देखि ठुलो सानो दुवै लाहुरेको परिवारले नमनाउने अरे | किनकि यी भनेका बाहुन काठाका पर्व अरे | मगरको होइन रे | अनि के के के के...यस्तो अनौठो कुरो सुन्दा हाम्रो बाल मस्तिष्कमा समेत "किन यसो गरेको होला?" भन्ने पर्न गयो | गत वर्षसम्म सबै जना कति मिलेर यो रमाइलोमा सरिक हुन्थे.... सबका निधारमा राता टिका..... अझ ठुलो लाहुरेको घरमा त कति ब्यबस्थित तरिकाले जमरा राख्थे.. ऐले अचानक के भएछ? हामि जिल्ला पर्यौं | यो निर्णयबाट खुद ठुलो लाहुरेका परिवारका सदस्य पनि खुसि थिएनन् | पछि अलि बुझ्ने भएपछि थाहा लाग्यो, ठुलो लाहुरे आफुलाई मगरजातिको सच्चा पहरेदार भन्ने ठान्दा रैछन | नाम कहलिएका मगर नेताहरुको उनको घरमा आवत जावत हुदोरैछ | र आफुलाई सच्चा मगर भन्ने देखाउन र आफ्नो पहिचानलाइ कायम राख्ने भन्ने बहानामा ति दुइ मगर परिवारले दशैं नमनाउने भएछन | त्यति मात्र होइन, ठुलो लाहुरे प्रभावशाली भएकाले उनले आफ्नो वर परका आफन्तहरुलाई समेत यो पर्व नमनाउनका लागि कन्भिन्स गरेका रैछन् | र त त्यस साल पछि हाम्रो टोलमा  आजसम्म पनि धेरै मगरहरुले दशैं मनाउन छाडिदिएका छन  | त्यो समयमा ठुलो लाहुरेले एक प्रकारको बिद्रोह गरेका थिए | कसैले पनि नसोचेको कुरा गरेर | उनले आफ्नो हिसाबले त सहि गरेका होलान् तर येसैपनी जात फरक भएकै कारण त्यति घुलमिल नभएका हामीहरुलाई त अब झन नजिक हुने अवसर पनि रहेन | एक किसिमले पहिले देखि नै रहेको दुरीलाई ठुलो लाहुरेको यो कदमले झन् बढावा दियो | समाजमा एकताको साटो झन भिन्नताको बिज रोपिएको महशुस भयो सबैलाई | एउटा राम्ररि मिलेर बसेको समाजमा ठुलो लाहुरेले आफ्नो जातीय पहिचानको नाममा दशैं नमनाउने निर्णय गरेर जे सावित गर्न खोजे त्यो पक्कै पनि समुदायको हितमा थिएन भन्ने कुरा त हामि साना केटाकेटीहरुले समेत अनुभव गरेम् |

आज बिस वर्षपछि देशमा जातीय पहिचानको लडाइं भैरहेका बेला लाग्छ हाम्रो देशमा धेरै ठुलो लाहुरेहरु जन्मेका छन् | मलाइ थाहा छ ठुलो लाहुरेले पक्कै पनि आफ्नो समुदायको उठान को लागि र चेतना फैलाउनका लागि त्यति बेला एक प्रकारको बिद्रोह गरेका थिए | तर अहिले आफ्ना वाद, आफ्ना स्वार्थ र के के हो के के सिद्ध गर्नका लागि अहिलेका ठुलो लाहुरेहरु लागि परेको देखिन्छ | दशैं एउटा जात बिसेषको  मात्र चाड थिएन | यो त आदिम कालदेखी प्रकृतिका पुजक रहेका सम्पूर्ण नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने एउटा धागो थियो | यो सम्पूर्ण नेपालि समाजको एकताको पहिचान थियो | तर आज यो कुनै जात बिशेषको भएको छ  र दिन प्रतिदिन यसको महत्वमाथि आंच आउने क्रम जारि छ | हाम्रो देश समावेशी हुँदैछ, त्यो खुसीको कुरा हो, तर त्यति हुँदा हुँदैपनि हामि नेपालीबीच परापुर्वकाल देखी रहेको आपसी सौहार्दता र सहिश्नुताले अहिले धुलो चाटेको छ | तर मनमा यो बिश्वाश छ कि कुनै दिन यस्तो पनि आउनेछ  जतिबेला अलग अलग जाति, संस्कृति, रिति थिती सबैको एउटै साझा प्लाटफर्म दशैं जस्तो चाडको महत्व फेरी सबै जनाले महशुस गर्नेछन् | र मनाउने छन सारा नेपालीले बडा हर्षले "बडादशैं" | सबैलाई दशैंको मंगलमय शुभकामना ...

जय होस् !  

Wednesday, October 2, 2013

मनचिन्ते कुरा - १

"मनचिन्ते कुरा" शिर्षक राखेर यो दुर दराजको यो सानो शहरमा ब्लग लेखन  सुरु गरिरहंदा सात समुद्र पारि नेपालमा मेरा बा  पनि आफ्नो डायरीमा  यसको कतिऔं भाग लेख्दै हुनुन्छ मलाई थाहा छैन | यो शिर्षक मेरा बाको डायरीको शिर्षक हो | आफ्ना मनमा  लागेका कुराहरु लेख्ने कापीको शिरानमा वा कतै नाम लेख्नका  लागि राखिएको खालि ठाउँमा मेरा बा यहि शिर्षक दिनु हुन्छ | मैले ऐलेसम्म यो शब्द "मनचिन्ते" पनि बा बाहेक अरु कसैबाट सुनेको छैन | यस अर्थमा मेरा लागि यस शब्दको जन्मदाता मेरा पुजनीय बुवा (जसलाई म कैले काहीं बा नै मात्र भन्छु) नै हुनुन्छ |
मैले बुझेसम्म मनचिन्ते कुरा भनेको मनमा लागेका कुराहरु नै हुन् | आधुनिक भाषामा ब्लग नै मनचिन्ते कुरा हो | यहाँ कम्प्युटरमा लेख्न कक्षा  ५ देखि नै कम्प्युटर पढी टोपली आएको मलाइ त हम्मे हम्मे परिरहेछ, बा कसरि लेख्नोस कम्प्युटरमा ? नत्र त टप ब्लगरमा बाको नाम उहिले दर्ज भैसक्थ्यो |
म सानै छदा देखि नै लेख्नका लागि बाले मलाइ प्रेरणा दिनुहुन्थ्यो | बुवा बुटवलका पत्र पत्रिकाहरुमा कहिले सम्पादक भएर त कहिले नियमित लेखक भएर लेखीरहनुहुन्थ्यो | त्यसैको प्रभाव हो मलाइ पनि पत्रिकामा कविता छाप्ने रहर जाग्यो |
अहिले सम्झेर हाँसो उठ्छ | मेरो नाममा पत्रिकामा प्रकाशित पहिलो कविता मैले लेखेको थिइन | बुवाको चोर औंलोमा एउटा ठुलो पिलो आएको थियो र तेसै पिलोलाइ विषय बनाएर "पिलो" शिर्षक को कविता लेख्नु भएको थियो बुवाले | मैले "मेरो नाममा पत्रिकामा दिन्छु नि" भन्दा बुवाले नाइं भन्नु भएन | न "यस्तो गर्नुहुन्न" भनेर नै थर्काउनु भयो | र त मेरो नाममा "एक्सरे" साप्ताहिकमा पहिलो कविता छापियो | मलाइ छरछिमेकका केटाहरुले अलि अलि शंका को दृष्टिले पनि हेरे तर म यति दृढ थिए कि  त्यो कविता मेरो आफ्नै रचना हो भन्ने विश्वास दिलाउन मैले कन्ठै गरेको थिए |
यसरि बाको कविता बाट मेरो कवि जीवन एक हिसाबले सुरु भयो भन्नु पर्छ | त्यसपछि पनि फाट्ट फुट्ट रुपमा कविता लेखि रहन्थें म | र शनिबार प्रकाशित हुने बाल स्तम्भहरुमा मेरा कविताले ठाउँ पाउँथे | तर पनि मलाई गुणात्मक रुपमा त्यति राम्रो कविता लेख्ने कहाँ आउँथ्यो र | त्यस बखत मेरो उमेर ७-८ बर्षको न थियो | त्यसपछि म ९ बर्षको छदा मैले स्कुल फेरें | नयाँ स्कुलमा भर्ना हुने बेलैमा बुवाले हेडसरलाइ "यसले कविता पनि लेख्छ" भनेर गफ लगाइ दिनु भएछ | अनि त  के चाहियो र? अस्सेम्ब्लीमा लाइन लाहेको बेला पहाड जत्रो जिउ भएका हाम्रा हेडसरले "भोलि कविता लेखेर लिएर आउनु" भने | अब पर्यो फसाद . ... कविता नलेखौं  सरले तेसरी अगाडी नै आएर नामै लिएर भने.......लेखौं ढंग पुर्याएर लेख्ने अनि अलि धेरै जनाले तारिफ गर्ने खालको लेख्ने खुबी छैन........ | यो अप्ठेरो समयमा मलाइ सहयोग गर्ने एकजना मात्र भेटें मैले - मेरी दिदि "इन्दिरा" |
दिदीले बेलुकी भान्सामा रोटि पकाउँदै मेरा लागि कविता जुराइ दिनुभयो "मेरो स्कुल" | कविता भोलिपल्ट स्कुलमा लगेर लाइन लागेका बेला नै सरलाई दिएँ | म मान्छे पनि सानो र आवाज ले पनि लगभग  ५-७ सय विद्ध्यार्थिको जमातमा आवाज नपुग्ने भएकाले ठुलो ठुलो स्वर गरि अजंगका मेरा हेडसरले कविता पढेर सुनाए | यो कविता त यति हिट भयो कि यसका सबै शब्द शब्द मलाइ अझै सम्म पनि कण्ठ छन् | त्यसपछि त दिप बोर्डिंग स्कुलमा मैले कहिल्लै पछि फर्केर हेर्नु परेन | सिर्जनाका हरेक क्षेत्रमा म अब्बल मानिन्थे |
यो दोश्रो कविता पछि भने मैले कविता लेख्न कसैको सहयोग लिनु परेन | पछि पछि मैले आफै लेखेका कविताको पनि स्तर बढ्दै गयो | मैले स्कुले जीवनमा धेरै कविताहरु लेखेर स्थानीय पत्रिकाहरुमा छपाएको थिए  | पछिसम्म पनि सबै को कटिंग राखेको थिए | अहिले पनि कतै बाको दराजमा सुरक्षित होलान् |

दाउराको चुलोमा आगो बाल्न सलाईले मात्र पुग्दैन | झास झुस, पराल , कागज आदिको सहारा लियो भने ठुला ठुला मुडाहरूमा पनि आगो लगाउन सजिलै सकिन्छ | हो, त्यसै गरि मेरा बा र मेरी दिदिले तिनै कागज र पराल को काम गरेर मलाइ सिर्जना गर्न हौस्याउने काम गर्नु भयो | र पछि सम्म पनि त्यो आगो निरन्तर बल्यो र केहि बेरपछि त त्यो आगो निभ्दै पनि गयो र ताता कोइलाहरु मात्र रहे | र आज खरानीले छोपिएर राखिएको तिनै कोइलाहरु र तिनै कोइलामा रहेको तातोमा  फेरी साना तिना दाउराहरु जोरेर अर्को आगो बाल्ने कोशिस गर्दैछु म ......