Wednesday, March 19, 2014

हाम्रो, आफ्नो : खोजी मौलिकताको

"कुनै जमानामा कस्तो कलम चल्थ्यो..... बालककालमा वक्तृत्वकला प्रतियोगितामा भाग लिने जस्तो लेख लेखेको पो रैछु त | सृजना भन्ने टोलको पत्रिकाको लागि लेखिएको यो लेख ब्लगमा"

सूचना र प्रविधिको तीब्रतर गतिमा भइरहेको विकासले गर्दा वर्तमान विश्वमा अब नयाँ कुराहरु धेरै बाँकी छैनन् । विश्वको जुनसुकै पनि कुनामा सबैको नजर पुगिसकेको छ । अब केही कुरा कोही कसैबाट पनि छिपाउन लुकाउन मुश्किल छ । मौलिकता भन्ने कुरा अब बिस्तारै लोप हुँदैछ । यस्तो परिदृश्यमा नेपालजस्तो विकासोन्मुख राष्ट्रले विश्वलाई दिनसक्ने कुरा धेरै छैनन् । हाम्रो निर्यात गर्ने वस्तुहरु पनि विस्तारै साँघुरिंदै गएका छन् । नेपाली ऊनको गलैंचार तयारी पोशाकको अन्तराष्ट्रिय व्यापार खस्कँँदै गएको कुरा दैनिकजसो छापाहरुमा आइरहेकै छ । तर गहिरिएर सोंच्ने हो भने व्यापार व्यवसायका सानातिना मालसामान बेच्न नसकेपनि हामीले आधुनिक विश्वलाई धेरै कुरा बेच्न सक्छौं । हामी आधुनिक विज्ञानका गह्रुँगा सुत्रहरु त प्रतिपादन गर्न नसकौंला तर हाम्रो सरलता पनि कम आकर्षक छैन । अनि हाम्रो सभ्यता, संस्कृति र प्रकृतिभित्र रहेका धेरै भर्जिन(पवित्र) विषयवस्तुहरुमा अनुसन्धान गरेर त्यसको प्रतिफल संंसारलाई सुनाएर जिल्ल पारिदिन सक्छौं । यसो हेर्दा हामिसित आफ्नो र मौलिक भन्ने केही छैन जस्तो लागेपनि हेरि ल्याउँदा हामीसित जति मौलिक कुराहरु को सँग हुन सक्छन् र ? फरक दृष्टिकोणमा मात्र छ ।
प्रसंगलाई साँघु¥याउँदै ल्याउँदा यो भन्नै पर्ने हुन्छ कि नेपाली सभ्यता र संस्कृतिमा धेरै आफ्ना कुराहरु छन् । अफ्गानिस्तानदेखि बर्मासम्म फैलिएको विशाल हिमालय पर्वतश्रृंखलाको अधिकांश भाग ओगट्ने नेपालको उत्तरी सिमाना नै यहाँको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, आदि विविधताको कारक हो भन्दा अत्युक्ति नहोला । आयुर्वेद डाक्टरहरुको एउटा सम्मेलनमा नेपालका प्रसिद्ध दन्तचिकित्सक डा.सुशिल कोइरालाले भन्नुभएको कुरा सधैं मेरो स्मरणमा आउँछ । उहाँ भन्दै हुनुन्थ्यो ः “जब म विश्वभरका नामी डेन्टिस्टहरुको सभा सम्मेलन वा गोष्ठिमा जान्छु, आधुनिक चिकित्सा विज्ञानलाई म केही नयाँ कुरा दिन सक्दिन । किनकी विज्ञान–प्रविधि विकास उतैतिर बढी छ । तर जब म दन्त चिकित्साको त्यहीं पाटोलाई फरक तरिकाले ख्भमष्अ क्mष्भि भनी नाम दिन्छु । त्यतिबेला मेरो कार्यपत्र निकै प्रभावकारी हुन्छ । उहाँको यो भनाइबाट के लाग्छ भने हाम्रो समाजमा दुइथरी बौद्धिक जगत व्याप्त छ । एउटा जगत जसले हाम्रो धर्म संस्कृति र सभ्यतामा कत्ति पनि वैज्ञानिकता देख्दैन र कथित आधुनिकताको नाममा पछौटेपनलाई मात्र अंगिकार गरेको पाइन्छ भने अर्को यस्तो पनि बौद्धिक सर्कल छ डा.कोइरालाजस्तै जसले हाम्रो परम्परा, संस्कृति र सभ्यताभित्र लुकेका विभिन्न तथ्यहरुलाई वैज्ञानिक विश्लेषण गर्ने सामथ्र्य राख्दछ वा सम्मानसाथ हेर्दछ ।
हामीले दिनदिनै प्रयोग गर्ने चिजबिज लेख्ने पढ्ने कापी कलमदेखि, लत्ताकपडा, घरद्वार केहीमा पनि हाम्रो मौलिकता छैन । पाश्चात्य जगतको सिको गर्न हामी उद्दत छौं । अहिलेको विश्वले खुला बजार अर्थनीतिलाई अंगिकार गरिरहेको छ । अब केन्टुकिको कुखुराको मासु खान अमेरिका नै पुग्नुपर्दैन, ब्राजीलको खाना अब एकै क्लीकमा बेडरुममा मगाउन सकिन्छ । यस्तो बजारमा नेपालजस्ता साना गरीब देशहरुले प्रतिस्पर्धा गर्न निकै गाह्रो पर्छ । एकातिर हामीलाई आफ्ना मौलिक उत्पादनहरु विश्वसामु परिचित गराउने र विश्वव्यापी रुपमा त्यसको बजार विस्तार गर्ने अवसर छ भने अर्कोतिर सम्पूर्ण रुपमा आफूलाई बिर्सेर परनिर्भर हुने अवस्था पनि आउन सक्छ । पछिल्लो अवस्था नेपालको वर्तमान हो । हामीले नेवार संस्कृतिको लाखामरी –मिठाई) लाई भारतीय सोनपापडीको प्रतिस्पर्धामा उतार्न सकेका छैनौं । फलस्वरुप लाखामरी  बनाउनसक्ने शिल्पीहरु विस्थापित हुँदैछन् । र ती सँगै तिनको मौलिक शिप र ज्ञान पनि क्रमशः हराउँदैछ ।
यो लेखक चिकित्सा विज्ञानको विद्यार्थी भएको नाताले यसै विषयका लेखहरु उठाउन सान्दर्भिक देखिन्छ । जस्तो कि सामान्य रुपले भन्दा÷सोध्दा वा कुराकानी गर्दा हामी कल्पना पनि गर्न सक्दैनौं हामीले वर्तमान एलोप्याथी चिकित्सा विज्ञानलाई कति योगदान गरेका छौं भन्ने कुरा । विदेशी भूमिमा सिकिएको शिक्षालाई हामीले नेपाली जनताको लागि काम लाग्ने बनाएका छौं । आधुनिक चिकित्सा विज्ञानको कुनै पनि एक पुस्तक भेट्टाउन मुश्किल पर्छ जसलाई नेपाली लेखककले लेखेका होउन् । नेपाली चिकित्सा विज्ञानका विद्यार्थीले सबै विदेशी वैज्ञानिकद्धारा लिखित पुस्तक अध्ययन गरेका हुन्छन् । भन्नुको तात्पर्य एलोप्याथी चिकित्सा विज्ञानमा हामी नेपालीको योगदान शुन्यबराबर छ । यो आयातित विज्ञान हो जसलाई हामीले हाम्रो माटोमा सजाउने प्रयास गर्दा कति सफल भयौं भएनौं त्यो पछिको कुरा । अहिलेको खुला समाजमा पनि म र मेरो भन्ने कति आत्मकेन्द्रीत र संकुचित सोंचाई भनेर मलाई आरोप लगाउन मिल्छ । तर यो कटु सत्य हो विश्वको जुनसुकै कुनामा पनि अपनत्व (कभािलभकक) का प्रति सबैको माया छ । रुवान्डाको जातीय लडाई, भारत पाकिस्तानको विभाजन, अफ्रीकाको रंगभेद विरोधी आन्दोलन, बेलाबेलामा भड्कीने धार्मिक हिंसादेखि नेपालमा अहिले छलफलको विषय बनेको समावेशी र आरक्षणका कुराहरुमा आत्मस्वाभिमान झल्किएको हुन्छ । उदाहरणको लागि लिउँ न भर्खरमात्र प्रसिद्ध भारतीय संगीतकार ए.आर.रहमानले ओस्कार पुरस्कार पाउँदा भारतीय नागरिकले जति गर्व गरे के हामीले उनका प्रति त्यति घमण्ड गर्न सक्यौं त । हामी पनि उनका संगीत सुन्छौं, उनलाई चिन्छौं तर उनी पुरस्कृत हुँदा हामी गर्वले फुल्न सकेनौं जति हाम्रा नीर शाहले लगानी गरेको चलचित्र “क्याराभान” मनोनित हुँदा सम्म मात्र पनि हामी जति फुलेल थियौं । यो मानवीय स्वभाव हो । जहाँ पनि मेरो, आफ्नो, हाम्रो भन्ने भएरै छाड्छ ।
प्रसिद्ध योगऋषि स्वामी रामदेवले “भारत स्वाभिमान” नामक आन्दोलन मार्फत पछौटेपनलाई उन्मुलन गर्ने अभियानको शुरुवात गरेका छन् । “अपनी भाष, अपना संस्कृति, अपना विज्ञान, अपनी चिकित्सा” जस्ता नाराहरु अगाडि सारेर उनले आफ्नो चिजलाई प्रोत्सान दिने अभियान चलाएका छन् । हामी सचेत नेपाली नागरिकमा के त्यत्ति सोंच छ ? छातीमा हात राखेर भन्ने हो भने हामी कति जना छौं ? जसले भारतीय वा अन्य विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादनहरुमा विश्वास गरेका छौं । हो हामी उपभोक्ता हौं, र हामीलाई गुणस्तर सित मात्र सरोका र छ, बरु महँगो होस् तर राम्रो होस्– कहाँ बनेको सित हामीलाई सरोकार छैन भन्ने तर्क हामी राख्न सक्छौं ।तर उहि र उत्तिकै गुणस्तरीय दुई स्वदेशी र विदेशी सामान हाम्रा अगाडी राख्ने हो भने हामी दोस्रोलाई नै रोज्छौं । यो पनि मानवीय स्वभाव हो तर समस्या कहाँनेर छ भने हामीकहाँ आफ्नालाई प्रोत्साहन गर्ने संस्कृतिको विकास भएको छैन ।
हो, अपनी चिकित्सा अर्थात् आफ्नै चिकित्सा प्रणाली । विश्वव्यापी रुपमा व्याप्त र लोकप्रिय एलोप्याथी चिकित्साको आधिपत्यलाई चुनौति दिंदै भारतजस्तो धेरै उपभोक्ता भएको मुलुकको एक सामान्य जोगीले आज मौलिक चिकित्साले भारत मात्र  हैन पुरा विश्वलाई स्वस्थ बनाउँछु भनिरहेको छ । त्यो मौलिक चिकित्सा भनेको योग र आयुर्वेद हुन् । भारतीय र नेपाली संस्कृतिमा धेरै समानता छ । अफ्गानिस्तानदेखि वर्मासम्म फैलिएको विशाल हिमालय पर्वत शृंखलाको  काखमा रहेका भारत, नेपाल, काश्मिर, सिक्कीम, तिब्बत, भुटान, वर्मा आदि देशहरुको सभ्यता र संस्कृतिमा मिल्ने पक्षहरु धेरै छन् । यो नै पूर्वीय सभ्यताको उद्गमथलो हो । विश्वकै प्राचीन भाषा संस्कृत, पुस्तक वेद, धर्म हिन्दु आदि सबैको विकास यसै भूमिमा भएको हो । आयुर्वेदकै इतिहासको कुरा गर्ने हो भने त आयुर्वेदको उत्पत्ति हिमालयकै छेउछाउमा भएको भनिएको छ । हिमालयको ठूलो हिस्सा ओगट्ने हाम्रो मुलुक, संसारकै अग्ला हिमालहरु भएको हाम्रो मुलुक र त्यसकारण आयुर्वेद विज्ञान हाम्रो विज्ञान हो, यसको उत्पत्ति हाम्रो माटोमा भएको हो भनेर हामीले कहिल्यै भन्न सकेनौं । र त आज सारा विश्वले् आयुर्वेद र योगलाई भारतीय चिकित्सा (क्ष्लमष्बल ःभमष्अष्लभ) भनी पुकार्छ । हामी यहिंनेर पछि परिसक्यौं ।आयुर्वेदका प्रसिद्ध वैज्ञानिकहरु नागार्जुन, चरक, सुश्रुत त्यसअनुसार सबै भारतकै कहलिए । जे होस्, भनाईको तात्पर्य के हो भने चिकित्सा विज्ञान जस्तो जटिल विषयमा हाम्रो पनि योगदान छ र? भनेर विश्वास नगर्ने हामी यो थाहा पाउँदा जिल्ल पर्छौं कि एक डेढ सय वर्षको पनि इतिहास नभएको हाम्रो मुलुकमा आयुर्वेद चिकित्सा हजारौं वर्षदेखि व्याप्त छ । आयुर्वेदको प्रसिद्ध पुस्तक काश्यपसंहिता नेपालमै भेट्टाइएको थियो र यहाँका नामी वैद्यहरुले निकै खोज अनुसन्धान गरेर बनाएका औषधिहरुले यहाँका जनताले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । जसको एउटा ज्वलन्त नमुना करीब ४०० वर्ष पुरानो सिंहदरबार वैद्यखाना हो । नेपालजस्तो गरीब र पिछडिएको मुलुकमा पनि ४ सय वर्षअघि औषधि उत्पादन गर्ने फार्मेसी हुनु कुनै चानचुने कुरा होइन । तर खै त हामीले यस कुरामा गर्व गर्न सकेको ? खै त हामीले सिंहदरबार वैद्यखानालाई डाबर, हिमालय जस्ता बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्न सकेको ?
कुरो चिकित्सा विज्ञानको मात्र होइन । यो त जटिल र संवेदनशील विषय न ठहरियो । तर हामी आधुनिक बन्ने निहँुमा अन्धाधुन्ध यसरी अरुको नक्कल गरिरहेका छौं जसको कुनै सिमा नै छैन । परम्परागत मौलिक प्रविधिहरु अब संग्राहलयमा राख्न पनि नअट्ने गरी हराउँदै छन् । पछिल्लो समय प्लाष्टिकका भाँडाकुँडाको प्रयोगले हाम्रो माटोबाट भाँडाबनाउने प्रविधि लोपोन्मुख छ । ठेकी, चौंठी, पेरुंगो आदि जस्ता भाँडा त देख्नै मुश्किल भैसक्यो । र सँगसँगै लोप भइसके तिनलाई सिर्जना गर्नेहरुका कला शिल्प । न हामीकहाँ प्लाष्टिककै भएपनि माग पूरा गर्न सक्ने कलकारखाना बने न त हामीले काठकै उद्योगहरुलाई व्यवसायिकता दिन सक्यौं । त्यहीं नियति छ हस्तकलाका अन्य सामाग्रीहरुको । त्यसरीनै बुढापाकाले निर्धारण गरेका स्वास्थ्यका उपायहरु पनि त हराउँदै छन् । सानातिना स्वास्थ्य समस्याहरुलाई भान्साकै मसला, ओखतिहरुबाट निको पार्ने बिधि अहिलेको पुस्ताले कहाँ जानेको छ र ? अब नयाँ पुस्तालाई यस्ता मौलिक प्रविधि, ज्ञान र कलाको विषयमा तालिम दिने बेला भइसकेको छ ।
हामी निकै पछौटे भइसकेछौं । अब आफ्नो र हाम्रो चिन्ने बेला भएको छ । अब भन्ने बेला भएको छ चारधाम भनेको बद्री केदार मात्र होइनन् । नेपालकै रुरुक्षेत्र, पाशुपत क्षेत्र, बराहक्षेत्र र मुक्तिक्षेत्र हुन हाम्रा चारधाम । अब दरबार मार्गका रेष्टुराँहरुमा पिज्जासँगै नेवार परिकार चतामरीले पनि स्थान पाउनुपर्छ । बटुक र योमरीहरु पनि मोःमोः जस्तै सर्वसुलभ हुनुपर्छ । देउडा र रोयला घन्किनुपर्छ डिस्कोहरुमा । घाटुले स्थान पाउनुपर्छ रियालिटी शोहरुमा । अब व्यवसायिक तालिममा केटाकेटीलाई ढाका बुन्ने तान देखाइनुपर्छ र तेल पेल्ने कोलको प्रविधि बुझाइनुपर्छ । हाम्रा नातीहरुले आधुनिक खेलौनाको साथमा काठले बनाएका गाडी र मकैको डाँठका पुतलीहरु पनि खेल्न पाउनुपर्छ । अब फेरि काठमाडौंका गल्लीहरुमा बैद्यपसल खोलिनुपर्छ र बनाइनुपर्छ दुई चारवटा वैद्यखानाहरु । अब ढाल्नुपर्छ संस्कृतिलाई फेसनमा र परिस्कृत गरिनुपर्छ मूल्य र मान्यताहरु । अब जस्ताको तस्तै कपी पेस्ट गरेर मात्र हुँदैन, संस्कार पछाडीका तथ्यहरु सबैले बुझ्ने भाषामा पढाइनुपर्छ । सिकाइनुपर्छ चुरा लगाउनुको महत्व, चन्दनको चमत्कार अनि देखाइनुपर्छ परम्पराका पछाडि लुकेको वैज्ञानिक कारणहरु । यो सब हामीले कत्ति ढिलो नगरी गर्नुपर्ने भएको छ । यत्ति छिटो कि फेरि हाम्रो आफ्नो भन्ने चिज हराइ नजाओृस्, मेटिएर नजाओस् ।